निर्वाचन प्रक्रिया भन्नाले मूलतः मतदाताको नाम सार्वजनिकदेखि निर्वाचन परिणाम सार्वजनिक हुनेसम्मको चरण बुझिन्छ । यही प्रक्रियाबाट स्थानीय तहको निर्वाचनमा गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा जनताका प्रतिनिधि चयन हुन्छन् । यसका लागि कस्ता व्यक्ति चुनावी प्रक्रियामा सहभागी हुन पाउँछन्, उम्मेदवार मनोनयन कसरी हुन्छ, कसले भोट हाल्न पाउँछ, भोट हाल्ने ठाउँ कहाँ हुन्छ, मतगणना कहाँ गरिन्छ, निर्वाचन परिणाम कसरी घोषणा हुन्छलगायत विषय जान्न आवश्यक छ ।

मतदाता

१८ वर्ष पुगेका र मतदाता नामावलीमा नाम भएका नागरिक निर्वाचनमा मत खसाल्न योग्य हुन्छन् । यस स्थानीय तहको निर्वाचनमा २०७३ फागुन ९ गतेसम्ममा अठार वर्ष पूरा भई सो मितिसम्ममा मतदाता नामावलीमा नाम दर्ता गरेका व्यक्तिले मत खसाल्न पाउँछन् । आफ्नो नाम मतदाता नामावलीमा छ कि छैन भनेर निर्वाचन आयोगको वेबसाइट http://election.gov.np/election/np/bbvrs बाट जानकारी लिन सकिनेछ । त्यसका लागि मतदाताले सामान्य विवरण जिल्ला, गाउँ वा नगरपालिका र वडा नं. भर्नुपर्ने हुन्छ ।

हरेक मतदाताको परिचय नम्बर उल्लेख गरिएको हुन्छ । त्यही नम्बरका आधारमा आफ्नो मतदान केन्द्रबाट मतदाता परिचपत्र लिन सकिन्छ । निर्वाचन आयोगका अनुसार पहिलो चरण वैशाख ३१ गते हुने निर्वाचनका लागि वैशाख २७ गते देखि निर्वाचन परिचयपत्र वितरण सुरु हुन्छ । मतदानको दिन यही परिचयपत्रका आधारमा मतदाताले आफ्नो वडामा तोकिएको मतदान केन्द्रमा भोट खसाल्न पाउनेछन् ।

मतदाता नामावलीमा नाम भएका व्यक्ति चुनावमा उठ्न सक्छन् । चुनावमा उम्मेदवार हुन उम्मेदवार मनोनयनपत्र दर्ता गर्नुपर्ने हुन्छ । राजनीतिक दलका प्रतिनिधि वा स्वतन्त्र व्यक्तिले मनोनयनपत्र दर्ता गर्न सक्छन् ।

उम्मेदवारी दर्ता

स्थानीय तहको निर्वाचन तोकिएको मितिमा सम्पन्न गर्न निर्वाचन आयोगले ९ वटा चरणको कार्यक्रमको समयतालिका सार्वजनिक गरेको छ । जसअनुसार वैशाख ३१ गतेको निर्वाचनका लागि पहिलो चरणमा वैशाख १९ गते मनोनयनपत्र दर्ता गर्नुपर्छ । स्थानीय तहको निर्वाचनमा उम्मेदवार हुन चाहने इच्छुक व्यक्तिले सम्बन्धित जिल्लाको गाउँपालिका वा नगरपालिका केन्द्रमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउनुपर्ने हुन्छ । मनोनयन दर्ता समय बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तोकिएको छ ।

दोस्रो चरणअनुसार सोही दिन साँझ ५:३० मा मनोनयनपत्र दर्ता गराएका उम्मेदवारको सूची प्रकाशित गरिनेछ ।

मनोनयनपत्र दर्ता गराउने व्यक्ति नेपालको संविधानले तोकेको योग्यताअनुसारको हुनुपर्छ । संविधानअनुसार मनोनयनपत्र दर्ता गर्नका लागि योग्य व्यक्ति नेपाली नागरिक हुनुपर्नेछ । त्यस्तै २१ वर्ष उमेर पूरा भएको हुनुपर्छ । गाउँपालिका वा नगरपालिकाको मतदाता नामावलीमा नाम समावेश भएको र कुनै कानुनले अयोग्य नभएको हुनुपर्छ । त्यस्ता व्यक्तिले प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य पदमा उम्मेदवारी दिन सक्छन् । तेस्रो चरणमा प्रकाशित मनोनयन सूचीका आधारमा उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । यस्तो उजुरी वैशाख २० गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म निर्वाचन कार्यालयमा गर्न सकिनेछ । चौथो चरणमा वैशाख २० गते दिउँसो १ बजेदेखि वैशाख २१ गते बिहान ११:३० बजेसम्म उम्मेदवारको मनोनयनपत्र जाँच गरिनेछ ।

पाँचौँ चरणमा निर्वाचन कार्यालयले वैशाख २१ गते बिहान ११:३० देखि दिउँसो १ बजेसम्म मनोनयन भएका उम्मेदवारको नामावली प्रकाशित गर्नेछ । छैटौं चरणमा सोही दिन दिउँसो १ देखि साँझ ५ बजेसम्म उम्मेदवारले आफ्नो नाम फिर्ता लिन चाहेमा फिर्ता लिन सकिनेछ ।

सातौं चरणमा वैशाख २२ गते बिहान १० देखि ११ बजेसम्म निर्वाचन कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्नेछ । आठौं चरणमा सोही दिन बिहान ११ पछि उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । उम्मेदवारले निर्वाचन चिह्न प्राप्त गरेपछि वैशाख २२ देखि वैशाख २८ गतेसम्म प्रचारप्रसार गर्न पाउनेछन् । निर्वाचन आयोगले जारी गरेको आचारसंहिताभित्र रही उम्मेदवारले प्रचारप्रसारको काम गर्नुपर्ने हुन्छ भने सरकारले निर्वाचन शान्तिपूर्णरूपमा सम्पन्न गर्न शान्ति सुरक्षा, चुनावी खर्चलगायत अन्य प्रशासनिक कामको तयारी गर्नुपर्ने हुन्छ । नवौं चरणअन्तर्गत वैशाख ३१ गते निर्वाचन केन्द्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने समय तोकिएको छ ।

निर्वाचन कार्यतालिका

क्र.स.

कार्यक्रम

मिति

समय

स्थान

देखि

सम्म

देखि

सम्म

उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने

२०७४ साल वैशाख १९

१०:००

१७:००

मुख्य/निर्वाचन अधिकृतको कार्यालय गाउँपालिका/नगरपालिका केन्द्र

मनोनयनपत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन

२०७४ साल वैशाख १९

१७:३०

,, ,,

उम्मेदवारको विरोधमा उजुरी दिने

२०७४ साल वैशाख २०

१०:००

१३:००

,, ,,

मनोनयन पत्र जाँच गर्ने

२०७४ साल वैशाख २०

२०७४ साल वैशाख २१

२०७४ साल वैशाख २० को  १३:००

२०७४ साल वैशाख २१ को  ११:३०

,, ,,

मनोनयन भएको उम्मेदवारको नामावली प्रकाशन गर्ने

२०७४ साल वैशाख २१

११:३०

१३:००

,, ,,

उम्मेदवारको नाम फिर्ता लिने

२०७४ साल वैशाख २१

१३:००

१७:००

,, ,,

उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने

२०७४ साल वैशाख २२

१०:००

११:००

,, ,,

उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने

२०७४ साल वैशाख २२

११:००

१७:००

,, ,,

पहिलो चरणको मतदान गर्ने

२०७४ साल वैशाख ३१

७:००

१७:००

सम्बन्धित मतदान केन्द्र

स्रोत : निर्वाचन आयोग

मतदान गर्ने दिन

वैशाख ३१ गते पहिलो चरणको ३,४ र ६ नम्बर प्रदेशमा मतदान गर्ने दिन हो । यस दिन मतदाता आफ्नो नाम जुन मतदान केन्द्रमा छ, त्यहीँ जानुपर्छ । निर्वाचन आयोगले पहिलो र दोस्रो चरणको निर्वचनका लागि १० हजार ६ सय ४० मतदानस्थल र १८ हजार ५ सय ७२ मतदान केन्द्र तोकेको छ । एउटा मतदानस्थलमा एउटाभन्दा बढी मतदान केन्द्र हुन सक्छन् । पहिलो चरणको निर्वाचनमा ४ हजार ४० मतदानस्थल र ७ हजार ३ सय ११ मतदान केन्द्रमा मतदान हुनेछन् ।

भोट खसाल्न जाँदा मतदान केन्द्रमा खटिएका स्वयम्सेवक र सुरक्षाकर्मीको सहयोग लिन सकिन्छ । मतदातालाई सहयोग गर्नका लागि निर्वाचन आयोगले देशभर एउटा मतदान केन्द्रमा तीन जना स्वयम्सेवक खटाउँछ । यस्तै मतदान केन्द्रमा मतदान व्यवस्थित किसिमले सञ्चालन गर्नका लागि निर्वाचन आयोगले प्रत्येक मतदान केन्द्रमा कम्तीमा ५ जना कर्मचारी खटिएका हुन्छन् । भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सुरक्षाकर्मी परिचालित हुनेछन् ।

भोट खसाल्न जाँदा सबै मतदाता लाइनमा उभिएर आफ्नो नाम रुजु गराउनुपर्ने हुन्छ । औंलामा मसी लगाउन दिने, मतपत्र लिने, मतपत्रमा मतदान अधिकृतको सही छ वा छैन भनी हेर्ने, नभएमा सही गर्न लगाउनुपर्छ । र, गाउँमा गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, वडाअध्यक्ष र ४ जना सदस्यलाई मत हाल्नुपर्छ । ४ जना सदस्यमध्ये २ जना महिला र खुला सदस्यमा २ जनालाई मत हाल्नुपर्छ । २ जना महिलामध्ये एकजना दलित समुदायका महिलालाई मत हाल्नुपर्छ ।

यस्तै नगरपालिका, उपमहानगरपालिका र महानगरपालिकामा प्रमुख, उपप्रमुख, वडाअध्यक्ष र ४ जना सदस्यलाई मत हाल्नुपर्छ । ४ जना सदस्यमध्ये २ जना महिला र खुला सदस्यमा २ जनालाई मत हाल्नुपर्छ । २ जना महिलामध्ये एकजना दलित समुदायको महिलालाई मत हाल्नुपर्छ ।

मतदान केन्द्रमा ज्येष्ठ नागरिक, गर्भवती महिला, अशक्त बिरामी, शारीरिकरूपमा अपाङ्ग र दृष्टिबिहीनहरूलाई विशेष व्यवस्था मिलाइएको हुन्छ । यी मतदातालाई भोट खसाल्न लाइन बसिराख्नुपर्दैन, त्यहाँ उपस्थित स्वयम्सेवकले सहयोग पुर्याउँछन् ।

मतगणना र निर्वाचन परिणाम घोषणा

मतदान सकेपछि मत खसालेको बाकस प्राप्त गरेपछि निर्वाचन अधिकृतले सूचना प्रकाशित गरी मतगणना गर्ने मिति, समय र स्थान तोक्छन् । सूचनामा मतगणनाका लागि प्रत्येक उम्मेदवारले आफ्नो प्रतिनिधि मनोनयन गरी मतगणनास्थलमा पठाउन उल्लेख गरिएको हुन्छ ।

मतगणनास्थलमा सम्बन्धित निर्वाचन अधिकृतले अनुमति दिएका उम्मेदवार वा उम्मेदवारको निर्वाचन प्रतिनिधि, मतगणनाको काममा खटिएका व्यक्ति, पर्यवेक्षक वा अनुगमनमा खटिएका व्यक्ति, सुरक्षाका लागि खटिएका कर्मचारी र आयोगले खटाएको व्यक्ति मतगणना गर्ने स्थलमा प्रवेश गर्न पाउँछन् । मतगणना लगातार गर्नुपर्ने हुन्छ । केही कारणबस मतगणना रोक्नुपर्ने भएमा निर्वाचन अधिकृतले मतबारे सबै विवरण राख्नुपर्ने हुन्छ ।

मतगणना सकेपछि दुई वा तीन निर्वाचित उम्मेदवारको मत बराबर भएको अवस्थामा गोलाप्रथाबाट निर्णय गरिन्छ । यसरी छानिएका उम्मेदवारले एक मत बढी प्राप्त गरेको मानिनेछ । सबै मतगणना सकिएपछि निर्वाचन अधिकृतले निर्वाचित परिणाम सार्वजनिक गर्छन् । निर्धारित पदमा सबैभन्दा बढी मत प्राप्त गर्ने उम्मेदवार निर्वाचित भएको घोषणा गरिन्छ । दोस्रो चरणको निर्वाचनको मिति २०७४ साल जेठ ३१ गते तोकिएको छ । त्यस दिन प्रदेश नम्बर १,२,३ र ७ नम्वर प्रदेशमा निर्वाचन गर्ने कार्यक्रम छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *