२०७४ साल वैशाख १७ देखि २३ गतेसम्म विभिन्न दैनिक र अनलाइन मिडियामा वैशाख ३१मा हुन गइरहरेको पहिलो चरणको निर्वाचनबारे विभिन्न घटनाक्रम जस्तै राजनीतिक, उम्मेदवारी चयन र मनोनयन दर्ता, चुनावी व्यवस्थापन, सुरक्षा, हिंसाका घटान विषय मुख्य रुपमा प्रकाशित भएका छन् । साताको सुरुका दुई दिनसम्म चुनावी अन्योलका विषयले प्राथमिकता पाएको थियो भने, वैशाख १९ गते मनोनयन दर्ता कार्य सम्पन्न भएयता पहिलो चरणको निर्वाचन हुने प्राय निश्चित भएका समाचार प्रकाशित भएका घटना र त्यसको फलोअप गरिएका छन् । मनोनयन दर्ता संगै मिडियामा निर्वाचन माहोल तयार भएको देखिन्छ ।

यो साता नेपाली मिडियाले राजनीतिक र चुनावी मनोनयन प्रमुख एजेण्डाका साथ प्रकाशित गरेका छन् । निर्वाचन घोषणा भइसक्दा पनि खासगरी मधेसवादी दलका मागका सम्बन्धमा भइरहेको राजनीतिक खिचातानी तथा संविधान संशोधनको विषयलाई लिएर भएको शक्ति संघर्षले निर्वाचन हुनेमा निकै आशंका गरिएको थियो । संविधान संशोधन नगरी निर्वाचनमा नजाने मधेसवादी दलहरूको अडान तथा संशोधन गर्नै नदिने प्रमुख प्रतिपक्षको भनाइबीच पछिल्लो समय संशोधनको प्रस्ताव दर्ता भएपछि आशंका थप बलियो भएर आएका थिए । यसैबीच गत आइतबारलाई तोकिएको संशोधन प्रस्तावमाथिको बहस निर्णय प्रक्रिया अचानक स्थगित भयो । त्यही दिन सत्तारुढ दल कांग्रेस र माओवादी केन्द्रका तर्फबाट प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाभियोग प्रस्ताव दर्ता गरियो । सोही दिन गृहमन्त्रीले राजीनामा दिए । भोलिपल्ट सत्तारुढ गठबन्धनबाट राप्रपा सरकारबाट बाहिरिने निर्णय आयो । यी सब राजनीतिक घटनाक्रमले सोमबारसम्म पनि निर्वाचन हुने–नहुनेमा आशंका थियो ।

महाभियोग प्रकरण सुरु हुनुअघि संसद भवनमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख ३१ गते पहिलो चरणको स्थानीय चुनाव भएरै छाड्ने दाबी गरेका थिए । संसद बैठक वैशाख २१ सम्मका लागि अकस्मात् स्थगित हुदै गर्दा पनि उनमा चुनाव हुनेबारे उत्तिकै विश्वास थियो । दिउँसोको प्रधानन्यायाधीलाई महाभियोग र गृहमन्त्री निधिको राजीनामापछि फेरि सर्वसाधारणमा चुनावबारे अन्यौल छायो । दाहाल निकट माओवादी केन्द्र नेता वर्षमान पुनले जेठ ३१ को दोस्रो चुनावबारे पछि छलफल गर्न सकिने, तर वैशाख ३१ को चुनाव कुनै हालतमा नसर्ने दाबी गरे । कान्तिपुरसग कुरा गर्दै पुनले भने, ‘निर्धा्रित समयमा उम्मेदवार मनोनयनलगायत सबै प्रक्रिया अघि बढ्छ, वैशाख ३१ मा चुनाव हुनेबारे कुनै द्विविधा नराखे हुन्छ ।’ सरकार पछिल्लो राजनीतिक घटनाक्रमबीच पनि चुनावको बाटोबाट विचलित नहुने उनले दाबी गरे । प्रमुख निर्वाचन आयुक्त अयोधी प्रसाद यादवले पनि वैशाख ३१ गते नै चुनाव हुने दाबी गरे । आयोगले गरेको निर्वाचन अनुगमन अभिमुखीकरणसम्बन्धी कार्यशालामा बोल्दै उनले त्यस्तो दाबी गरेका हुन् । मधेसी दलहरु भने अब संविधान संशोधन र स्थानीय चुनाव अब के होला भनेर अन्यौलमा देखिएका छन् । राजपा नेता राजकिशोर यादवले यस्तो अवस्थामा सत्ता घटकबीच दूरी बढ्न थालेकाले अब संशोधन विधेयक र चुनावबारे संशय पलाएको बताए । राजपा अध्यक्ष मण्डलको बैठक बिजुलीबजार मूख्यालयमा आइतबार एकै छिन बसेको थियो ।

यस्तै

एमाले उपाध्यक्ष भीमबहादुर रावलले भन्नुभयो, ‘एकाएक स्वतन्त्र न्यायपालिकामाथि हस्तक्षेप गर्ने उद्देश्यमा कांग्रेस र माओवादी केन्द्रका २४९ सांसदले संसद् सचिवालयमा प्रधानन्यायाधीशविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराउनु नै स्थानीय तहको निर्वाचनको अनिश्चितता हो । स्थानीय निर्वाचनलाई सुनिश्चित गराउने र शक्ति पृथकीकरणको सिद्धान्तलाई कायमै राख्ने उद्देश्यका साथ सोमबार बस्ने एमाले स्थायी समिति बैठकले महत्ववपूर्ण निर्णय लिनेछ ।’

यस घटना अघि भने प्रतिपक्षी दल एमालेले बजेट पछि चुनाव कुनैपनि हालतमा गर्न नहुने अडान राख्दै आएका घटनाबारे समाचार प्रकाशित भए भने, एमालेको दुवै चुनाव सार्नेबारे गरेको प्रस्तावले वैशाख ३१ गतेको चुनावबारे अन्योल कायमै रह्यो ।

प्रमुख विपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैशाख ३१ र जेठ ३१ का दुबै चरणको निर्वाचन सारेर बजेटअगावै एकै चरणमा चुनाव गर्ने प्रस्ताव अघि सारेका छन् । संविधान संशोधनबारे सहमति खोज्न सत्तारुढ दल कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरु शनिबार विहान ओली निवास बालकोट पुगेका थिए । भेटमा एमाले अध्यक्ष ओलीले संविधान संशोधन प्रस्ताव कुनै हालतमा पास हुन नदिने अडान लिए । उनले बरु बैशाख ३१ गतेका लागि तोकिएको पहिलो चरणको चुनाव सार्ने र जेठ १५ को बजेट अगावै एकै चरणमा गर्ने प्रस्ताव राखे । कांग्रेस नेताहरुसँगको भेटपछि बसेको पार्टी स्थायी कमिटीको बैठकमा ओलीले आफूहरुले कांग्रेस नेताहरुसामू एकै चरणमा चुनाव गर्ने प्रस्ताव राखेको बताए । एमालेका एक पदाधिकारीका अनुसार यसबारे एमालेले आधिकारिक निर्णय भने गरिसकेको छैन । कांग्रेस नेताहरुले पनि एमाले अध्यक्ष ओलीले बैशाख ३१ को चुनाव सारेर जेठ ११र११ गतेतिर एकै चरणमा गरौं भन्ने प्रस्ताव राखेको स्वीकार गरेका छन् । जवाफमा कांग्रेस नेताहरुले निर्वाचन तालिका आइसकेको भन्दै एमाले प्रस्ताव अस्वीकार गरेका छन् ।

तर, मनोनयन दर्ता गर्ने दिनबाट भने स्थानीय तहको निर्वाचनको माहोल बनेको भन्दै मिडियामा व्यापक समाचार प्रकाशित भएको देखिन्छ । मिडियाले मनोनयन दर्तालाई उत्साहपूर्ण, शन्तिपूर्ण, उल्लासपूर्ण भनि हेडलाइन प्रयोग गरेका छन् ।

नागरिक, गोरखापत्र र नयाँपत्रिकाले आफ्नो सम्पादकीयमा निर्वाचन होला वा नहोला भन्ने शंकाको वातावरणमा दलहरु तोकिएको समयमा मनोनयन दर्ता गरेकोमा स्थानीय निकाय चुनावमा प्रवेश गरेको उल्लेख छ ।

नागरिक दैनिकले सम्पादकीयमा भनेको छ ।

अन्ततः मुलुक स्थानीय तह निर्वाचनमा प्रवेश गरेको छ । तोकिएकै समयमा निर्वाचन होलारनहोला भन्ने शंकाको वातावरण दलहरूका गतिविधिले सिर्जना गरिरहेको हो । विशेषगरी प्रमुख दलले निर्वाचन समयमै हुनुपर्छ भन्ने अभिव्यक्ति दिनुबाहेक पूर्ण संलग्नता देखाउन सकेका थिएनन् । अझ कतिपय अवस्थामा उनीहरू आफैंमा पनि यसप्रति शंका र अनिच्छा प्रकट भएको पनि हो ।

गोरखापत्र दैनिकको सम्पादकीय अनुसार ।

दलीय रुपमा जुसुकै दलका जोसुकै उम्मेदवार हार जीत होस्, त्यसले स्थानीय सरकारमा महिला, दलित र अल्पसंख्यक सहितको समावेशी प्रतिनिधित्वलाई सुनिश्चत गर्ने हो ।

नयाँपत्रिका सम्पादकीयमा लेख्छ ।

अन्ततः मंगलाबार जसरी विनाकुनै अवरोध सहज ढंगले निर्वाचनका लागि उम्मेदवारी दर्ता भयो, त्यसपछि भने देशको सबै माहोल निर्वाचनमय भएको छ । अब मतदाताका हातमा देशको भाग्य भविष्यको फैसला गर्ने दायित्व सरेको छ । कमसेकम हरेक मतदाताले आफ्नो वडा, गाउँ या नगरपालिकाको सफल नेतृत्व गर्न सक्ने उम्मेदवारलाई मत दिने सुझबुझ देखाए भने देशले आगामी पाँच वर्षमा धेरै परिवर्तनको अनुभूति गर्न पाउनेछ । सबै उम्मेदवारलाई हाम्रो शुभकामना !

उम्मेदवारी मनोनयनसंगै मिडियामा चुनावी गतिविधिबारे विभिन्न विषयमा समाचार प्रकाशित भएका छन् । अनलाइन मिडियामा मनोनयनका दिन दिनभर कहाँ कसले मनोनयन दर्ता गराए, दलहरुले उम्मेदवार छनोटसंगै मनोनयन दर्तासंगै असन्तुष्ट पक्षले दिएको राजिनामा, बागी उठ्ने, दलहरुबीच चुनावी तालमेल लगायतका विषयमा समाचार प्रकाशित भए । यस्तै विभिन्न स्थानमा निर्विरोध भएका घटनाहरु सार्वजनिक भए । विशेषगरि अनलाइन समाचार माध्यमको प्राथमिकतामा शहर केन्द्रीत समाचारले मुख्यरुपमा प्राथमिकता राखेको देखिन्छ ।

३ क्षेत्रका ४ महानगरपालिका, एक उप महानगरपालिक, ९२ नगरपालिकाका उम्मेदवारहरुको मनोनयनका समाचार प्राथमिकतामा पर्यो । त्यस माथि प्रमुख ३ दलका उम्मेदवारीहरुले चर्चा पाए । गाउँपालिकाका समाचार र उम्मेदवारबारे कमै चर्चा भए । वैशाख १९ मा मात्र अनुगमन गरिएका ५ वटा अनलाइन मिडियामा चुनावी गतिविधिबारे १२० वटा समाचार प्रकाशित भएका, यो अन्य दिनभन्दा प्रकाशित समाचार भन्दा दोब्बर हो ।

यस्तै दैनिक पत्रिकामा पनि अनलाइन मिडियामा जस्तै प्रमुख चार राजनीतिक दल नेपाली काँग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका उम्मेदवारले चर्चा पाए भने, गाउँपालिकाको कभरेजको हिसाबले स्थान कम पाए । स्थानीय निकायको चुनावका गतिविधिबारे जानकारी दिन विभिन्न छापा माध्यले नियमित निर्वाचन पृष्ठ निकाल्ने गरेकोमा, वैशाख १९ देखि कान्तिपुर दैनिकले पनि छुट्टै निर्वाचन पृष्ठ प्रकाशित गरेको छ ।

साताको अन्त्य तीर भने दलहरुबीच भएको चुनावी तालमेलका घटनाबारे समाचार बने । यस्ता घटना प्रमुख राजनीतिक दलहरु नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राप्रपा बीच भएका तालमेलकाबारे समाचार सबै मिडियामा प्रमुखता पाएको हो । प्रमुख दलहरुबीच भएका तालमेलले स्थानीय तहमा उम्मेदवारी फिर्ता लिने देखि, दलहरु प्रति विरोधका समाचार प्रमुखरुपमा प्रकाशित भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *