पूर्वनिर्धारित समय वैशाख ३१ गते नै स्थानीय तहको पहिलो निर्वाचन सम्पन्न भएको छ । वैशाख ३१ वैशाख ३१ देखि जेठ ६ गतेसम्म विभिन्न दैनिक र अनलाइन मिडियामा स्थानीय तहको निर्वाचन पश्चात् नेपाली मिडियाले कसरी रिर्पार्टिङ गरे भन्ने विषयमा यो अनुगमन केन्द्रित छ ।

चुनाव हुने दिनमा चुनावमा र त्यसपछि मिडिया चुनावी परिणाममा केन्द्रीत भएको पाइन्छ । कुन ठाउँको मत परिणाम कति, कसले कहाँ जिते, मतगणना प्रक्रियामा भएका ढिलाई, महिला उम्मेदवारहरु निर्वाचित भएको, चुनावी तालमेल सफल नभएको, धेरै मत बदर भएको, निर्वाचनबारे दलहरुको आन्तरिक समीक्षामा पनि मिडियाको प्राथमिकतामा परेका छन् । त्यसैगरी दोस्रो स्थानीय तहको निर्वाचन, त्यसका लागि गरिएका सहमतिका प्रयास लगायतका विषय पनि प्राथमिकतामा परेका छन् । विजयी जुलुस, सपथ, कार्यालय व्यवस्थापनलाई पनि मिडियाले उठाएका छन् ।

विभिन्न मिडियामा चुनावी परिणाम फरफरक तथ्याकं प्रस्तुत भएका छन् । यसले नेपाली मिडियामा सूचनाको प्रवाह र तथ्यांक प्रस्तुतिमा समस्या भएको देखाउँछ । मिडियामा तथ्यपरक समाचार प्रस्तुत भएका छन् वा छैनन् भन्ने विषयमा पनि शंका गर्ने ठाँउ दिएको छ । सेतोपाटी अनलाइनमा पहिले राससको समाचार बढी प्रयोग गर्ने गरेको पाइएकोमा यसपटक निर्वाचन सम्बन्धी आफैले तयार पारेका सामग्री बढी प्रस्तुत गरेको पाइएको छ । अधिकांश मिडियाले निर्वाचनको परिणामलाई इन्फोग्राफिक्समा प्रस्तुत गरेका छन् । यसले नेपाली मिडियामा नयाँ आयम थप गरेको छ ।

मिडिया एजेण्डा

बैशाख ३१ गते निर्वाचन सम्पन्न भए यता चुनावी परिणाम मिडियाको प्राथमिकतामा परेको छ । वैशाख ३१ गते प्रकाशित पत्रपत्रिकाले स्थानीय चुनावलाई ऐतिहासिक भन्दै, सबैलाई स्थानीय चुनावमा सहभागित हुन आग्रह गरिएका समाचार प्रकाशित गरेका छन् ।

पत्रपत्रिकामा सो दिन गोरखापत्र, नयाँपत्रिका, नागरिक र कान्तिपुर दैनिकले आफ्नो सम्पादकीयमा चुनावमा सहभागि हुन आग्रह सहित, निर्धक्क भई ऐतिहासिक निर्वाचनमा सहभागी हुन आग्रह गरेका छन् ।

गोरखापत्र दैनिकले लोकतन्त्रको महायज्ञ भन्दै सम्पादकीय लेखेको छ ;

आज वैशाख ३१ गते । स्थानीय निर्वाचनको पहिलो चरणको महत्सव अर्थात महायज्ञ । देशका तीनवटा प्रदेश ३, ४ र ६ का ३४ जिल्लामा रहेका २८३ स्थानीइ तहमा निर्वाचन हुँदैछ । यो दिन एकाएक आएको होइन । लामो यात्रा र प्रतीक्षाको घडीसँगै यो दिन नेपालीको घरआँगनमा आइपुगेको छ । ती गाँउपालिका, नगरपालिका। उपमहानगरपालिका र महानगरपालिकाले निर्वाचित कार्यकारी संरचना पायने छन् ।

कान्तिपुर दैनिकले मताधिकार सदुपयोग गरौं भन्दै सम्पादकीय लेखेको छ ;

हालको निर्वाचन पहिलेभन्दा फरक परिवेशमा हुन गइरहेको छ । यसमा आफै प्रत्यक्ष सहभागी हुने अवसर नगुमाऔं ।निर्वाचन आयोगले चुनावका लागि सबै तयारी पूरा भइसकेको जनाएको छ । यसपटक सबैलाई मतदाता परिचयपत्र बाँडिएका कारणले पनि मतदान प्रक्रिया पहिलेभन्दा सहज र व्यवस्थित हुने अपेक्षा छ । तर स्थानीय तहको संरचना विस्तृत रहेको र तदनुरूप धेरै पद तथा धेरै उम्मेदवार खडा भएकाले यो निर्वाचनको मतदान प्रक्रिया संसदीय निर्वाचनभन्दा थोरै जटिल लाग्न सक्छ । त्यसैले आफ्नो मताधिकार खेर नजाओस् भन्नेमा मतदाताहरू स्वयं बढी सचेत हुनुपर्छ । निर्वाचन आयोगका कर्मचारी एवम् स्वयंसेवकले पनि यसका लागि सहजीकरण गर्नेछन् । मतदान प्रक्रियालाई सरलीकृत गर्न भविष्यमा ‘भोटिङ मसिन’ प्रयोग गर्न समय छँदै तयारी गर्नुपर्नेतर्फ पनि आयोगले योजना बनाउनुपर्छ । यसपटकका लागि चाहिं निभर्यसाथ मतदान होस् र मतदाताले कुनै पनि किसिमको असुरक्षा महसुस नगरून् भन्नका लागि सरकारी सुरक्षा निकायहरूको निष्पक्ष र प्रभावकारी क्रियाशीलता जरुरी छ । चुनावमा कुनै पनि किसिमको धाँधली नहुनेरनगर्ने कुरामा राजनीतिक दलहरूको प्रतिबद्धता पनि व्यवहारमै देखिनुपर्छ ।

नयाँ पत्रिका दैनिकले निर्धक्क मतदान भन्दै सम्पादकीय लेखेको छ ;

निर्वाचनको तयारी र प्रचार प्रसारका सन्दर्भमा छिटफुटबाहेक आमरुपमा शान्तिपूर्ण अवस्था सिर्जना भएको छ । अब प्रचार प्रसार सबै काम सकिएका छन् । आज सबै मतदाताले विवेक प्रयोग गरेर मतादान गर्ने समय आइपुगेको छ ।

नागरिक दैनिकले आफ्नै सरकारको अभ्यास भन्दै सम्पादकीय लेखेको छ ;

स्थानीय तहको रुपमा पहिलोपटक हुन लागेका कारण मात्रै यो निर्वाचनको महत्त्व भएको होइन, यो निर्वाचन राज्य पुनःसंरचना कार्यान्वयनको एउटा महत्त्वपूर्ण खुड्किलोसमेत हो । साथै नयाँ संविधान कार्यान्वयनका हिसाबले पनि यसपटकको स्थानीय तह निर्वाचन ऐतिहासिक हुनेछ । यो निर्वाचनले सिंहदरबारमा रहेको राजनीतिक अधिकार जनस्तरसम्मै पुर्याउनेछ ।

यस्तो अवसरलाई स्थानीय जनताले सदुपयोग गर्न सकेमात्र भविष्यमा आफ्नो गाउँठाउँको विकास हुनेछ, स्थानीयले सुविधा पाउनेछन् । स्थानीय तहका जनप्रतिनिधि एवं सरकारका गतिविधिले नै लोकतन्त्रलाई बलियो बनाउने हो । स्थानीय लोकतन्त्र सबल भयो भने मात्र वास्तविक रुपमा जनता अधिकारसम्पन्न हुन्छन् । जनता अधिकारसम्पन्न भएको स्थानमा मात्रै लोकतन्त्र पनि सबल हुन्छ । त्यसैले सबल लोकतन्त्र निर्माणका लागि पनि स्थानीय तहको निर्वाचन अवसरको सदुपयोग आवश्यक छ । स्थानीय तह सिर्जना हुन र त्यसलाई निर्वाचनको चरणमा पुर्याउन मुलुकले दुई दशकको समय खर्च गरेको छ । यतिका वर्षसम्म स्थानीय निकाय कर्मचारीतन्त्रले चलाएको छ । जनप्रतिनिधिले चलाउने पाएका भए पक्कै पनि विकास निर्माणले गति लिने थियो । आफैं सरकार बनाउने यो अवसरलाई सर्वसाधारणले उत्साहका साथ सहभागिता जनाउनेछन् । जसले लोकतन्त्रको जगलाई समेत बलियो बनाउने दृढ विश्वास आम जनजनतालाई दिनेछ ।

सोही दिन विभिन्न अनलाइन सञ्चार माध्मले बिहानैदेखि पहिलो चरणमा चुनावमा भोट हाल्ने गएका मतदाताबारे विभिन्न ठाउँबाट समाचार संप्रेषण गरेका थिए । समाचारमा राजनीतिक दलका प्रमुख नेताहरुले कता मत खसाल्दै छन्, उनीहरुले कसरी भोट खसाले भन्ने समाचार देखि मतदान क्षेत्रमा देखिएको चहलपहलका समाचार प्रकाशित भए । अनलाइन समाचार माध्यमले हरेक पलका गतिविधि अपडेट गरेसंगै कति मत खसेको भन्दै समाचार प्रकाशित गरेका थिए । तर, मतदान सम्पन्न भएपछि भने खसेको मतबारे भने यकिन तथ्यांकमा भने समस्या देखियो । अनलाइनखबरहरुमा निर्वाचन आयोगलाई उदृत गर्दै पहिले ७१ प्रतिशत मत खसेको भन्ने समाचार लेखिएपनि पछि ७३ प्रतिशत खसेको समाचार प्रकाशित भएको पाइन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *