पत्रकारिताको सुरुवातदेखि नै पीत पत्रकारिता वा प्रोपागान्डाको रूपमा कुनै न कुनै किसिमका मिथ्या सूचना प्रवाह हुँदै आएका छन्। आमसञ्चार माध्यमको विकाससँगै यस्ता सूचनाको पहुँच धेरै मानिससम्म फैलिन थाल्यो। इन्टरनेट र प्रविधिको विस्तार तथा सोसल मिडियाको आगमनले मिथ्या सूचनाको निर्माण, प्रकाशन/प्रसारण र वितरणलाई झनै सहज र तीव्र बनायो, जसका कारण यसको प्रभाव राजनीति, समाज, जनस्वास्थ्यदेखि व्यक्तिको निजी जीवनसम्म व्यापक रूपमा पर्न थाल्यो।
मिथ्या सूचनाले व्यक्ति, परिवार, समुदाय, राष्ट्र र लोकतन्त्रलाई गम्भीर नकारात्मक असर पार्ने भएकाले आज यो विश्वव्यापी रूपमा समकालीन समाजको प्रमुख समस्यामध्ये एकका रूपमा चिनिन थालेको छ। नेपालमा पनि राजनीतिक घटनाक्रम, प्राकृतिक प्रकोप वा कोभिड महामारीका बेला मिथ्या सूचना व्यापक रूपमा फैलिएको देखिन्छ।
यस सन्दर्भमा मिथ्या सूचनाविरुद्ध जुध्न सहयोग गर्ने उद्देश्यले प्रकाशित यो पुस्तकले मिथ्या सूचना के हो, यसको प्रकार के–कस्ता छन् भन्ने आधारभूत ज्ञानदेखि यसको पहिचान र प्रतिकार गर्ने व्यावहारिक विधिसम्म प्रस्तुत गर्छ। साथै, मिथ्या सूचना फैलाउने पात्र, यसको प्रभाव, फैलिनुका कारण र विभिन्न सरोकारवाला पक्षको भूमिकाबारे पनि पुस्तकमा समेटिएको छ।
लेखक: उज्ज्वल आचार्य र उमेश श्रेष्ठ
सम्पादक: तिलक पाठक
सम्पादक: सेन्टर फर मिडिया रिसर्च – नेपाल
संस्करण: प्रथम
प्रकाशित वर्ष: २०२६
पृष्ठ: १४८
